राजनीति

समाजवादी मोर्चाले आज बुटवलमा सन्देशसभा गर्दै 

नवलपुर टुडे
२०८० भदौ १२ | बिहान ०८:०५ बजे

बुटवल, भदौ १२ । समाजवादी मोर्चाले आज (मंगलबार) लुम्बिनी प्रदेशको बुटवलमा सन्देशसभा आयोजना गर्दै छ । आज दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा आयोजना गरिएको हो ।

सभामा नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन् । बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्नेछन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ । अरू नेताहरू भने बिहान १० बजे पुग्ने स्रोतले जनाएको छ ।

मोर्चाले सातै प्रदेशमा प्रदेशस्तरीय सन्देशसभाको आयोजना गर्दै छ । गत भदौ ८ गते वीरगञ्जमा सभा गरेको मोर्चाले आगामी १३ गते धनगढीमा, १४ गते सुर्खेतमा र १५ गते पोखरामा सभाको तयारी गरेको छ । त्यस्तै भदौ २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा गर्ने तयारी रहेको समाजवादी मोर्चाले जानकारी दिएको छ ।

कमेन्टहरु