राजनीति

१० वटा विषयगत समितिका सभापतिले लिए शपथ

नवलपुर टुडे
२०८० भदौ ११ | मध्यान्ह ०५:०५ बजे

काठमाडौँ, भदौ ११ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । 

सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअनुसार नेकपा (एमाले) बाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह सभापति निर्वाचित भएका छन् । पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह सभापति बनेका छन् ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले खानविरूद्ध उम्मेदवारी दिएका थिए । सोमबार पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान पनि सर्वसम्मत सभापति चुनिएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव सभापति बनेका छन् । नेपाली कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्विरोध भएका छन् भने कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी निर्वाचित भएकी छन् ।

कमेन्टहरु