पोर्चुगलमा दुई नेपाली युवाको निधन


काठमाडौं, भदौ ३ । पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ। एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् भने अर्का युवाको शुक्रबार राति सुतेकै अवस्थामा निधन भएको हो।
लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए। थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए।
वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए। परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए।
यस्तै वैदेशिक रोजगारीका सिलसिलामा ५ वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बिहीबार राति सुतेकै अवस्थामा निधन भएको अध्यक्ष खड्काले जनाए।
उनका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।
शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उनले बताए।
निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताए।























