राजनीति

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि

नवलपुर टुडे
२०८० भदौ २ | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ, भदौ २ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलि आइतबारदेखि सुरु हुने भएको छ । शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । 
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले बताए ।

प्रवक्ता खतिवडाले भने, ‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरु गरिरहेका छौँ । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रीय पोलिटब्युरो बैठक बस्दैछ । ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । यसका एजेन्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौँ । भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ ।’

बैठकमा पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्ने पनि खतिवडाले बताए । पोलिटब्युरोको बैठक सोमबार नै सम्पन्न गरिने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका उनले बताए । ७ गते केन्द्रीय कमिटी बैठक समापन हुने र उक्त बैठकमा धेरै महत्त्वपूर्ण निर्णय र प्रस्तावहरु पारित हुँने खतिवडाको भनाई छ ।

कमेन्टहरु