प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै लोकप्रिय : वर्षमान पुन


काठमाडौँ, भदौ २ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार जनतामा लोकप्रिय भएको बताएका छन् ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको बताएका हुन् । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो ।
‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलो पटक सरकार पपुलर (लोकप्रिय) भएको छ ।’
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र अध्यक्ष प्रचण्डमा भएको बताए । सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि प्रचण्डले सरकारको नेतृत्व गरिरहेको उनले बताए ।
प्रचण्ड माओवादीको मात्र नभइ कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो । कांग्रेस र एमालेले बेला-बेला गाली गरेपनि अप्ठ्यारो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने उनको भनाइ छ ।






















