शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन दबाब


काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुई वरिष्ठ प्रहरी अधिकृतको सरुवा गर्ने तयारी थालेको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकारले प्रहरीका महत्वपूर्ण कार्यालयको नेतृत्व फेरबदल गर्ने तयारी गरेको हो ।
सरकारले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको सरुवा गर्न लागेको हो ।
उच्च सरकारी स्रोतका अनुसार सत्ता साझेदार कांग्रेस सभापति देउवाले हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटमा शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिने दुई निकायको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यसक्रममा उनले उपत्यका प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयको नेतृत्व परिवर्तन गर्न भनेको स्रोतको दाबी छ ।






















