रास्वपाले संसद् अवरूद्ध हुँदाको सेवा-सुविधा नलिने भन्दै सभामुखलाई बुझायो पत्र


काठमाडौं, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने निर्णय गरेको छ । शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपाका सभापति रवि लामिछानेले अहिलेसम्म पठाएको भएपनि हिसाब मिलान गर्न अनुरोध गरेका हुन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ ।
संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि उसले पत्रमार्फत् बताएको छ । जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन उसले सभामुखलाई आग्रह पनि गरेको छ ।
एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्दै गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्ष दल एमालेले संसद लगातार अवरोध गर्दै आएको छ ।






















