राजनीति

संसदमा गृहमन्त्रीको कुरा सुन्न एमाले तयारीका, माग पूरा नभए पुनः अवरोध गर्ने

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २३ । संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक बिना सहमति सकिएको छ । सो बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजनाएपछि एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए । 

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखिएको बताए । उनले भने–‘बैठकमा केही पनि सहमति भएन । सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखापर्‍यो । उच्चस्तरीय छानबिन समिति बनाउँदा सबै हाम्रै मान्छे पो पर्ने हो कि भन्ने उहाँहरूलाई त्रास परेको देखिन्छ । संसद खुलाउन प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्छ भन्नेमा उहाँहरु देखिनुहुन्न ।’

उनले बैठकको सुरुमा सांसद, दलका नेताले संशोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर सो क्रममा आफ्नो माग संशोधन नभए विरोध जनाउने बताए । 

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ ।

कमेन्टहरु