सभामुखसहित शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुनः छलफल गर्ने

नवलपुर टुडे
२०८० साउन २२ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं, साउन २२ । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।
सिंहदरबारमा भएको उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी थिए ।
एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद बैठक अवरोध गर्दै आइरहेको छ । तर समिति बनाउन सरकार तयार छैन ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्को बैठक भने ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगन हुने जानकारी दिए । आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।





















