एकीकृत समाजवादीले गर्यो केन्द्रीय सदस्य कर्माचार्यलाई पार्टीबाट निष्कासन


काठमाडौँ, साउन १९ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पूर्वसांसदसमेत रहेका कर्माचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको भन्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो ।
‘सङ्गठनात्मक पद्धति तथा निष्ठाकाबिरुद्धका क्रियाकलाप नगर्न अनेकौँ पटक सम्झाउँदा पनि पार्टी हितविरुद्धमा गतिविधि गरेकाले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो‚’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनी यसअघि नेकपा एमालेसँग सम्बद्ध थिए । एमालेमा रहेको अवस्थामा ८ वर्षसम्म सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्य २०७८ पुसमा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।





















