प्रतिपक्ष एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानबिन समितिको माग गर्यो: सांसद लेखनाथ दाहाल


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको दाबी गरेका हुन्।
उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए। उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए। उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए।
उनले भने, ‘आज उहाँहरुले छानबिन समिति बनाउनैपर्छ भन्ने छ। हाम्रो के कुरा छ भने सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ। अपराधीहरु पक्रेका छन्। सुन तस्कर पक्रेका छन्। छापा मारिएको छ। सुन गाल्ने मेसिन गिरफ्तारमा परेका छन्।
त्यसकारणले गर्दा यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिने, कहीँ न कहीँ सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित उहाँहरुले जो छानबिन समितिको माग राख्नुभएको छ। उहाँहरुको नियतमा आशंका छ।’






















