एमालेले आज पनि संसद् चल्न नदिने


काठमाडौं, साउन १६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताए । संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन् । छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएपछि एमाले पनि सदनको अवरोध हटाउन तयार थियो । दिउँसो उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो ।
त्यो छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले तदारूकताका साथ छानबिन गरिरहेको भन्दै अलग्गै समिति बनाउन तत्पर नदेखिएपछि समझदारी भाँडिएको थियो ।






















