२०औँ वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका सिंहले नयाँ राष्ट्रिय रेकर्ड बनाए


काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की चार स्वर्ण विजेता गौरिका सिंहले जापानको फुकुओकामा भइरहेको २०औँ वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय रेकर्ड बनाएकी छिन् ।
फुकुओकामा बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा ३१.४४ सेकेन्डको रेकर्ड बनाएकी हुन् । यसअघि उनले १२औँ सागमा ३१.८७ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । गौरिकाले यसै च्याम्पियनसिपमा सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपको पुरुष सय मिटर फ्री स्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गरेका छन् ।
एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।प्रतियोगितामा डुवाना लामाले दुई सय मिटर फ्री स्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्ड समयमा दूरी पूरा गरेकी थिइन् ।
यसअघि डुवानको व्यक्तिगत समय २ मिनेट १५.०१ सेकेन्ड रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको समय रहेको छ ।






















