बैठकमा कम आलोचना भएपछि देउवा खुसी,बैठकलाई मर्यादित बनाइदिएकोमा सदस्यहरूलाई धन्यवाद दिए

नवलपुर टुडे
२०८० साउन १० | मध्यान्ह ०८:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो आलोचना खासै नभएको भन्दै खुसी व्यक्त गरेका छन्।
बैठकको अन्तिम दिन सम्बोधन गर्दै उनले भने, ‘धेरै आलोचना होला भन्ने लागेको थियो। तर कम भयो।’ उनले बैठकलाई मर्यादित बनाइदिएकोमा सबै सदस्यहरूलाई धन्यवाद दिए। उनले बैठकको लाइभ प्रभावकारी भएको समेत बताए। उनले पार्टीभित्र कस्ता कस्ता नेता छन् भन्ने कुरा सबैले बुझ्न पाएको बताए।
उनले धेरै विषयमा जीवन्त छलफल भएको बताउँदै नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम नभएको संसारले थाहा पाएको स्पष्ट पारे। दिवंगत कांग्रेस नेताहरूप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको घोषणा गरिएको थियो।
आगामी बैठक असोज २ गतेका लागि बोलाइएको छ। निर्णयमा छुटेका विषयहरू पदाधिकारी बैठकले टुंगो लगाउने जानकारीसमेत सभापति देउवाले जानकारी दिएका थिए।






















