कांग्रेस बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नवलपुर टुडे
२०८० साउन ५ | बिहान ०७:०४ बजे

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ ।
आज बिहान ११ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्ने बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । अहिलेसम्म ८१ जना नेताले बैठकमा धारणा राखिसकेका छन् । हिजाेमात्रै ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए ।
उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनलगायत विषयमा धारणा व्यक्त गरेका छन् ।






















