हरिहजुरको बर्खास्तीपछि नयाँ कप्तानको जिम्मा मानबहादुरलाई


काठमाडौँ ।आगामी एसियाली खेलकुदका लागि भलिबल टिमको कप्तानको जिम्मा मानबहादुर श्रेष्ठले प्राप्त गरेका छन्।
नेपाल भलिबल संघको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिएको हो।
उनी नेपाली राष्ट्रिय टिमको कप्तानी समाल्ने ११ औँ खेलाडी हुन्। त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्दै आएका मानबहादुर राष्ट्रिय टिमका नियमित सदस्य हुन्। २६ वर्षीय मानबहादुरले आर्मीको समेत कप्तानी समालिसकेका छन्।
गत साता प्रधानमन्त्री कप एनभिए भलिबलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा दर्शक कुटिएको घटनामा तत्कालीन कप्तान हरिहजुर थापाले आफ्नो टिमको जिम्मेवारीसमेत राम्रो ननिभाएको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरिएको थियो।
दर्शकमाथि हातपात गरेका खेलाडी धनबहादुर भट्टलाई भने ६ महिना कुनै पनि भलिबल खेलमा सहभागिता जनाउन नपाउने गरी निलम्बन गरिएको छ।
अब नेपालले एसियाडमा मानबहादुरको कप्तानीमा सहभागिता जनाउने छ।
मानबहादुरले विशेष परिस्थितिमा जिम्मेवारी सम्हालेकाे भन्दै टिमलाई सफलताका साथ अघि लैजाने बताए।
उनले भने, ‘विशेष अवस्थामा टिमको जिम्मेवारी प्राप्त गरेको छु। एसियाडको महत्त्वपूर्ण समयमा टिमको कप्तानी गर्न पाउँदा थप जिम्मेवारी प्राप्त गरेको महसुस गरेको छु।’
मानबहादुरले प्रधानमन्त्रीकपका समयमा भएका घटनाले आफू पनि दु:खी भएको भन्दै आगामी दिनमा यस्ता खालका घटना नदोहिरिने बताए।
नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए।
सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन्। उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य रहेका थिए।























