प्रधानमन्त्री प्रचण्ड मन्त्री हेरफेर गर्ने मुडमा


काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्री हेरफेर गर्न लागेको स्रोत बताउँछ । जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसकेका छन् । तर कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा उनी पुगेको स्रोतको भनाइ छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ । उपमहासचिव वर्षमान पुनलगायत सरकारमा जाने चर्चा छ ।त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पनि रहेको बताइन्छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले वर्षमानलाई सरकारमा ल्याउन चाहेका थिए । तर उनले रवि लामिछाने उपप्रधानमन्त्री भएको सरकारमा आफू सहभागी नहुने भनेका थिए ।
अहिले रवि लामिछाने सरकारमा छैनन् । सरकारको कामलाई परिणाममा पुर्याउने मन्त्री चाहिएको भन्दै वर्षमान पुनलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउन चाहेको स्रोतले दाबी गरेको छ । तर नेता पुनका स्वकीय सचिव सन्तोष पुनले वर्षमान पुन सरकारमा जाने मनस्थितिमा नरहेको बताए । यदि प्रधानमन्त्री प्रचण्डले आउनै पर्छ भनेको खण्डमा त्यसका बारेमा सोच्न सकिने अवस्था रहेको उनको भनाइ छ । आफ्नै पार्टीका कोही मन्त्रीलाई हटाएर आफू मन्त्री बन्ने चाहना वर्षमानको नरहेको सन्तोषले प्रस्ट पारे ।






















