कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ, असार २० । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने छ । कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको हो । पार्टीको विधानअनुसार हरेक दुई महिनामा एक पटक बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक एक वर्षसम्म बस्न नसक्दा कांग्रेस केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु सार्वजनिक कार्यक्रममै नेतृत्वको चौतर्फी विरोध गर्दै आइरहेका थिए ।
पार्टीभित्रका असन्तुष्टि र खबरदारी पार्टीभित्रै राख्न नपाएको उनीहरुको गुनासो छ । कांग्रेस र राष्ट्रिय राजनीतिमा समेत अर्थ राख्ने महत्वपूर्ण निर्णयसमेत पार्टी सभापति शेरबहादुर देउवा र उनीनिकटका केही नेताले पार्टीभित्र छलफल नै नगरी गर्ने गरेको भन्दै संस्थापनइतर समूह रुष्ट बनेको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन् ।






















