मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरी हाँसोको विषय बनाइयो: पूर्वमन्त्री आनन्द


काठमाडौँ । पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री जयप्रकाश आनन्दले मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरी यसलाई हाँसोको विषय बनाइएको बताएका छन्।
नेपाली कांग्रेसका तर्फबाट तत्कालीन कृषि तथा पशुपंक्षीमन्त्री आनन्दले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
उनले आफू मन्त्री भएको बेलामा भारतबाट २५ वटा मुर्रा जातको राँगो माग गरेको बताउँदै यसको फाइदाका पक्ष ख्याल नगरी मजाक बनाएको बताए।
पूर्वमन्त्री आनन्दले फेसबुकमा लेखेका छन्, ‘यो अभागी मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरेर यसलाई हाँसोको विषय बनाइएको छ। मुर्राको एक भैसीले उचित स्याहार र खानपिन पाएमा वर्षमा २ सय दिनसम्म दैनिक ३० लिटर दूध दिने गरेको छ। यदि अन्य उन्नत जातको भैंसीमा यस मुर्राको वीर्यबाट गर्भाधान गराइ सोबाट हुने वर्णशंकर भैंसीबाट पनि औसत १२-१५ लिटर दूध प्रति दिन उत्पादन हुनसक्छ। म कृषिमन्त्री भएको बेला नयाँ दिल्लीमा भारतका तत्कालीन कृषिमन्त्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो स:शुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिए। त्यसबेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाइरहेको प्रतिबन्धका कारणले उनले असमर्थता जनाएका थिए। त्यसपछिका विभिन्न मन्त्री तथा सम्बद्ध निकायले यस मागलाई जारी नै राखेको हुनुपर्छ। हाल १३/१५ वटा उपलब्ध हुनु खुसीकै कुरो हो।’
नश्ल सुधारका लागि भारतबाट १५ वटा राँगो ल्याउने कुराले यतिबेला सदनदेखि संसदसम्म निकै चर्चा पाएको छ।
चार दिने भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणको बारेमा जानकारी दिने कार्यसूची रहेको प्रतिनिधिसभामा समेत प्रधानमन्त्री दाहाल भैँसी चढेर आएको भन्नेसम्म शाब्दिक उच्चारण भयो। र पछि त्यसलाई संसद्को रेकर्डबाट हटाइयो।






















