माओवादी केन्द्रमा फर्किने विप्लवको संकेत

नवलपुर टुडे


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् ।
पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेताहरुसँग संवाद जारी राखेका छन् । जसमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायत शक्तिसँग संवाद गरेका थिए ।
पछिल्लो समय एकीकृत समाजवादी र जसपासँग तत्काल समाजवादी मोर्चा वा सहकार्य हुने स्थिति नभएपछि माओवादी पृष्ठभूमिका नेताहरुसँग छलफल जारी राखेका छन् । महराले नेसपा, नेकपा र आमजनता पार्टीलाई एकता गर्न छलफल गरिरहेका छन् । त्यसमध्ये उनले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल गरिरहेको पार्टी सचिव गणेश शाहले बताए ।
अहिलेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले माओवादी पृष्ठभूमि पार्टीहरु एक ठाउँमा आउनुको विकल्प नरहेको शाहले जिकिर गरे । त्यसपछि अरु वामपन्थी कम्युनिस्ट शक्तिलाई पनि एकतावद्ध बनाएर जानुपर्ने बताए ।
महरा–विप्लव कनेक्शन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच २०७७ फागुन २१ गते तीन बँुदे सहमति भएपछि विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा भएको थियो । प्रतिबन्ध फुकुवा भएको दोस्रो दिन माओवादीका कुनै नेतालाई नभेटेर विप्लव महरालाई भेट्न खुमलटार पुगेका थिए । त्यसपछि मात्रै विप्लव काठमाडौंबाट कपिलबस्तुतिर लागेका थिए ।
त्यसयता महरा र विप्लवबीच धेरै पटक एकल र संयुक्त संवाद भइसकेको छ । गत माघमा दाङ जाने क्रममा महरा शिवगढी बासै बसेर छलफल गरेका थिए । काठमाडौं आउँदा विप्लव प्रायः महरा निवास खुमलटार पुगेकै हुन्छन् । महरा सकेसम्म विप्लवलाई पार्टीमा भित्र्याउन जोडवलका साथ लागेका छन् । तर, पार्टीका अरु नेताहरुले खासै चासो दिएका छैनन् ।
महराको दौडधुपले पछिल्लो समय विप्लवसमेत मन कमलो बनाउँदै लगेका छन् । गत जेठ दोस्रो साता नेकपा बैठकले वामपन्थी प्रगतिशील शक्तिसंग एकता र ध्रुवीकरणमा जाने निर्णय गरेको छ । एमालेबाहेक शक्तिसंग मोर्चाबन्दी गरेर जाने समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सहजीकरण गर्न नेता कर्णजीत बुढाथोकीलाई जिम्मेवारी दिएको छ । कर्णजीतसँगैविप्लवआफै पनि माओवादीका नेताहरुसंग नियमित छलफलमा छन् । यद्यपि पार्टी एकता नै गर्ने गरी महरा र विप्लवबीच समझदारी बन्न सकेको छैन ।
प्रचण्डको प्रतिरक्षा गर्दै विप्लव
माओवादी केन्द्रका नेता भन्दा एक स्टेप अघि बढेर माओवादी आन्दोलन र प्रचण्डको विप्लवले प्रतिरक्षा गदै आएका छन् । कुनैबेला प्रचण्ड–बाबुराम विरुद्ध तिखो आलोचना गर्ने विप्लव पछिल्लो समय प्रशंसामा समय खर्चिने गरेका छन् । माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे विप्लव कडामा खनिने गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेतारुलाई आलोचना गर्न छोडेका छन् । बरु उल्टै सकेसम्म प्रशंसामै समय खर्चिने गरेका छन् ।प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि विप्लवले सबैभन्दा बढी प्रचण्डकै प्रतिरक्षा गरेका थिए । सबै माओवादी एक भएमा पहिलो शक्ति हुने विप्लवले धारणा राखेका थिए ।
‘नौजवानहरुलाई उर्जा भरियो । पार्टीलाई देश र जनतातिर फर्काउन थालियो । फेरि सहिद परिवारलाई एकतावद्ध गरियो भने, हामी सबै एक भयौं भने २०६० सालको माओवादी बन्छौं । इतिहास रिभाइभ हुन्छ, इतिहास दोहोरिन्छ,’ त्यतिबेला काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले भनेका थिए, ‘मैले प्रचण्ड कमरेडलाई भनेको छु । सहिदहरुको प्रस्ताव क्याविनेटमा लैजानुस् । पास गर्छन् कि गर्दैनन् अर्को कुरा भयो । सबैलाई राष्ट्रिय सहिद हुन भनेर पास गर्नुस्् । हाम्रो पार्टी सहयोग गर्न तयार छ ।’
पछिल्ला थुप्रै कार्यक्रमहरुमा विप्लवले प्रचण्डको आलोचना गर्न छोडेका छन् । यसले समेत विप्लव प्रचण्डससँग नजिक भएको अनुभूति गर्न सकिन्छ ।
वैद्यसँग धर्मेन्द्र–हेमन्तले एकता गरेपछि टाढिए विप्लव
तत्कालीन एमाले–माओवादी एकता भएर नेकपा गठन भएपछि विप्लव वैद्य नेतृत्वको पार्टीसँग सबैभन्दा नजिक थिए । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध हटाएपछि नेकपा भन्दा उनी वैद्यसँगै नजिक भए । सर्वोच्च अदालतबाट एमाले–माओवादी एकता भंग भएपछि माओवादी ब्यूँतिएर स्थानीय तहको चुनावमा गयो ।
विप्लव नेतृत्वको नेकपा पनि स्थानीय चुनाव उपयोग गर्ने भन्दै सहभागी भयो । तर स्थानीय चुनावमा अपेक्षित नतिजा हासिल गर्न सकेन । उल्टै चुनावलाई लिएर धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरी नेकपा बहुमत गठन गरे ।
धर्मेन्द्र र हेमन्त पार्टी विभाजन भई वैद्यसँग नजिकिन थालेपछि विप्लव माओवादी केन्द्रसँग नजिक भएका हुन् । पार्टीबाट धर्मेन्द्र र हेमन्तप्रकाश पक्ष छुटेर मोहन वैद्यसँग एकता गरेपछि विप्लव र महरा संवाद सघन हुन थालेको नेकपा एक नेताले बताए ।
‘हाम्रो पार्टीको माओवादी केन्द्र भन्दा वैद्य कमरेडसँगै वैचारिक निकट्ता हो । पार्टी एकता गर्ने कुरा भइरहेको थियो,’ विप्लव नेतृत्वको ती नेताले भने, ‘धर्मेन्द्र र हेमन्तजीहरु वैद्यसँग एकता गर्न थालेपछि उहाँहरुसँग सहकार्य टाढिदै गयो ।’ माओवादी केन्द्रका नेताहरुसँग छलफल भएपनि एकता गर्ने गरी टुंगो नलागेको ती नेताले बताए । रातोपाटीबाट साभार

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















