जलहरीमा प्रश्न सांसदमा उठ्नासाथ किन आत्तियो एमाले?


काठमाडौ । पशुपतिनाथ मन्दिरमा ‘सुनको’ जलहरी लगाउँदा भ्रष्टाचार गरेको आरोप लगाएपछि आक्रोशित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण शुक्रबार संसद् बैठक नियमित कार्यसूचीमा प्रवेशै नगरी स्थगन भयो।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल र यस विषयमा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेलगायत सम्भावित कार्यक्रम तय गरिएको थियो।
तर एमाले सांसदहरुको नाराबाजी र विरोधले शुक्रबार संसद्को चालु बजेट अधिवेशन पहिलोपटक सुरु हुनासाथ अवरुद्ध भएको हो।
आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लगाएको भनी आक्रोशित एमालेले शुक्रबारको बैठकको सुरुमै सत्तापक्षीय सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको थियो।
एमाले अध्यक्ष ओलीसमेत शुक्रबारको बैठकमा उपस्थित थिए।
सुरुमै समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षीय सांसदले लगाएको आरोपबारे सरकारको जवाफ नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिए।
सभामुख देवराज घिमिरेले प्रतिपक्षी सांसदलाई प्रक्रिया अगाडि बढाउन दिन आग्रह गरे।
तर, अध्यक्ष ओली, उपनेता एवं उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेललगायत एमाले सांसद नाराबाजीमा उत्रिए।
उनीहरुले बेल घेरेर नाराबाजी गरेपछि सभामुख घिमिरेले २० मिनेटका लागि स्थगित गरेको बैठक त्यसपछि बस्नै सकेन।
बैठक स्थगन गरेर सभामुख घिमिरेले कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलसँग संयुक्त छलफल गरे।
दिनभर भएको छलफलमा एमालेले अनौठो माग राख्यो, जसमा सत्तापक्ष सहमत हुन सकेन।
‘एमालेले लेखनाथ दाहाल माननीयले माफी माग्नुपर्ने, उहाँको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र त्यसो नगर्ने हो भने सरकारका तर्फबाट चाँदी होइन, सुन नै लगाइएको हो भनेर सम्बोधन गर्नुपर्ने प्रस्ताव राखियो’, माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालखबरसँग भने, ‘त्यो प्रस्ताव स्वीकार गर्ने कुरै भएन, त्यसैले सहमति जुटेन र बैठक स्थगित बैठक फेरि बस्न सकेन।’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षविरुद्ध केही कुरै उठाउन पाइँदैन भनेर एमाले सांसद प्रस्तुत हुँदा सहमति नभएको बताए।
‘महालेखा परीक्षकको कार्यालयले पशुपतिमा जलहरी लगाउँदा सुन भेटिएन भनेर प्रतिवेदनमै उल्लेख गरेको छ, यस्तो विषय संसद्मा उठाउन नपाइने भयो’, लेखकले नेपालखबरसँग भने, ‘एमाले सांसदहरु यही कुरा उठाएर संसद् बैठक चल्न दिन्नाैँ भन्न थाल्नुभयो।’
दिनभर भएको छलफलमा कुनै सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक शनिबार (आज) अपराह्न ४ बजेका लागि बोलाइएको छ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले गम्भीर कुरा उठाउने सांसदले कि पुष्टि गर्नुपर्ने कि कारबाही गर्नुपर्ने जिकिर गरे।
‘सुन हो कि होइन, गैरजिम्मेवार कुरा उठाइसकेपछि त्यसै छाड्न मिल्दैन, साँच्चिकै पित्तल हो भने कारबाही गर्नुपर्यो’, नेम्वाङले नेपालखबरसँग भने, ‘यदि गलत कुरा बोलेको हो भने यति सिरियस कुरा त्यसै भन्दिने!’
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सो अभिव्यक्ति फिर्ता नलिने अडान लिएका छन्।
उनले महालेखा परीक्षकले औँल्याएको कुरा बोलेको बताउँदै कुनै नेताको नाम नलिएको दाबी गरे।
सरकारका तर्फबाट पर्यटनमन्त्रीले जलहरीका विषयमा ध्यानाकर्षण भएको बताउँदै आवश्यक कुरा बुझेर अर्काे बैठकमा यथार्थ जानकारी संसद्लाई गराउने भनी गरेको प्रस्तावसमेत एमालेले नमानेको सांसद दाहालको भनाइ छ।
‘उहाँहरुको अडान नै प्रधानमन्त्रीबाट जवाफ आउनुपर्छजस्तो देखियो, जबकि संसद्मा जुनसुकै माननीयले पनि जुनसुकै जनसरोकारका कुरा उठाउन पाउँछन’, उनले भने।
शनिबार बिहान सिंहदरबारमा प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्ष एमालेबीच छलफल हुने सम्भावना छ।
‘बिहान साढे ८ बजे बैठक बस्ने सम्भावना छ’, सत्तापक्ष र प्रतिपक्षबीचमा कुरा हुन्छ, समझदारी जुटाउने प्रयास हुन्छ।’
एमालेले गरेको संसद् अवरोधले सत्तापक्ष आश्चर्यमा परेको छ।
किन आत्तियो एमाले ?
नेताहरुका अनुसार संसद्मा सांसदले उठाएको विषयमा अब छानबिन प्रक्रिया अघि बढ्न सक्छ।
जलहरीमा १० केजी सुन नपुगेको कुरा महालेखा परीक्षक कार्यालय हुँदै अख्तियार कार्यालयमा पुगिसकेको छ।
अब यसको छानबिन हुँदा त्यस बेलाका मन्त्रीसमेत मुछिने सम्भावना हुने देखेर एमाले अतालिएको सत्तापक्षका नेताहरुको दाबी छ।
‘जलहरीमा १० किलो सुन पुग्दैन, अब छानबिन प्रक्रिया सुरु गर्न दबाब भयो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘यो विषय तत्कालीन सरकारसँग जोडिन्छ, अनि को-को छानबिनमा तानिने हुन् भन्ने परेको होला।’






















