समझदारीमै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुन्छ : प्रधानमन्त्री

नवलपुर टुडे


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनभित्र राजनीतिक दलहरूबीच समझदारी र सदनबाहिर पीडितहरूको पनि समझदारी बनाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामा रहेको बताएका छन् । राष्ट्रिय नाचघर जमलमा आइतबार आयोजित बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया विषयक अन्तक्र्रियामा प्रचण्डले धेरै नबोली काम धेरै गर्न चाहेको बताए । सहमति गरेर विधेयक पारित गरेर आयोगमार्फत दुई वर्षभित्र सम्पूर्ण काम सक्ने गरी अगाडि बढ्ने उनले बताए । विधेयकलाई सबैको साझा बनाउने प्रयास जारी रहेको उनले बताए ।
‘बेपत्ता योद्धा हुनुहुन्न भन्न मन लाग्दैन थियो । कुनै दिन खोज्दै जाँदा भेटिनुहुन्छ होला भन्ने लाग्थ्यो । तर, अहिले १६ वर्ष बितिसक्दा अब बिस्तारै बेपत्ताहरूको स्थिति सार्वजनिक भए हुन्थ्यो भन्ने मानसिकतामा आइपुगेका छौँ,’ उनले भने, ‘परिपूरणको व्यवस्था, सहिद परिवारलाई सम्मान, सुरक्षा र परिवारलाई रोजगारी दिने कुरा विधेयकमा छ । विधेयकलाई सबैको साझा बनाउने प्रयास अझै भइरहेको छ ।’
सत्तारूढ गठबन्धनमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा समझदारी रहेको र प्रतिपक्ष दलबाट पनि प्रतिबद्धता आएको उनले बताए । काम गरेर देखाउने संकल्पका साथ आफू अगाडि बढेको उनको भनाइ छ । ‘थोरै भन्ने, काम धेरै गर्ने संकल्प मैले प्रधानमन्त्री भएकै दिनदेखि गरेको हो । जनयुद्धको सहिदलाई राजपत्रमा सार्वजनिक गरेर हल्ला नगरी काम गरेँ । धेरै होहल्ला नगरी जनयुद्ध दिवसको दिनमा राष्ट्रिय बिदा दिएँ र जनयुद्ध दिवस मनाएँ । अरू पनि धेरै काम सुरु भएका छन् । केही परिणाम पनि आउन थालेका छन्,’ प्रचण्डले भने ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले संक्रमणकालीन न्यायको विषयलाई पक्ष र विपक्षमा नभई नेपाली जनता र सिंगो देशको मामिला बनाउनुपर्नेमा जोड दिए । ‘बेपत्ता योद्धा नेपाली जनताका सम्पत्ति हुन् । त्यसलाई हामीले स्थापित गर्नुपर्छ,’ उनले भने । बलिदानी दिन र बेपत्ता हुन तयार भएपछि मात्रै गणतन्त्र आएको उनले दाबी गरे । परिवर्तनको श्रेय सहिद, बेपत्ता र घाइते योद्धालाई दिनुपर्ने बताए । देशलाई केन्द्रमा राखेर सोच्नुपर्ने वेला आएको उनले बताए । जनताको चाहना सम्बोधन नगरे जनविद्रोह हुने उनले चेतावनी पनि दिए ।
कांग्रेस नेता रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाए । ‘विधेयक संसद्मा प्रस्तुत भएको छ । विधेयक सम्बन्धित समितिमा पुर्याएका छौँ । उपसमितिले अहिले काम गरिरहेको छ । संक्रमणकालीन न्यायसँग जोडिएको विषय छिटो टुंगाउनेछौँ । यही अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेर जान्छौँ,’ उनले भने । लेखकले विस्तृत शान्ति सम्झौताको बलमा अन्तरिम संविधान निर्माण भएको बताए । सोही जगमा देशमा ऐतिहासिक उपलब्धि प्राप्त गरेको उनले बताए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय सहमतिमा टुंग्याउनुपर्नेमा जोड दिए । ‘संक्रमणकालीन न्यायमा पीडकलाई सजाय कति दिने हो ? पीडितहरूले भन्नुभयो भने हामीलाई टुंग्याउन पनि सजिलो हुन्छ । त्यसकारण व्यापक परामर्श गरौँ । बहुमत, अल्पमत, सरकारको बल मिच्याइँ नहोस्, सत्य स्थापित गर्ने, न्याय दिने कुरा प्रक्रियाबाट अगाडि बढ्दै जान्छ । तर, परिपूरणको काम अगाडि बढाऔँ,’ उनले भने ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















