सरकारको नीति तथा कार्यक्रममा एमालेको असमर्थन


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा असमर्थन जनाएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताए ।
उनले भने, ‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन । यसले कुनै डेष्टिनेशन नै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन । कहाँ पुग्ने भन्ने कुरै छैन यसमा । यस वर्ष कहाँ पुग्ने ? यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्यो नि । यस वर्ष यति गर्छौ भन्नुपर्यो नि । त्यसकारण यो त के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो । यस्तो खालको भयो । अलिअलि केही कुराहरू पुराणबाट तानतुन गरिएका छन् । यसले नीतिगत रूपमा कुनै मार्ग निर्देश गर्दैन । स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो । यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’
अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन रहेको टिप्पणी गरे । सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उनले दाबी गरे । नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताए ।






















