सिरहाका नवराजपुर गाउँपालिकाकी उपाध्यक्षले ससुराको गाडी भाडामा देखाएर मासिक लाख भन्दा बढी बुझ्दै


सिरहा सम्बादाता
सिरहा, बैशाख ३१ । सिरहाको एक गाउँपालिकाकी उपाध्यक्षले ससुराको गाडीलाई भाडामा देखाएर मासिक लाखौ रुपियाँ पालिकाबाट बुझ्दै आएको तथ्य बाहिरिएको छ । ससुराको गाडिलाई भाडाको गाडी देखाएर लाखौ रकम बुझ्ने नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी यादव रहेकी छिन ।
नवराजपुर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए लगत्तै यादवले गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पाइन् । उनी सोही मोटरसाइकल प्रयोग गर्छिन् । मोटरसाइकल चढ्दा लाग्ने पेट्रोल पनि उनलाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ । तर पनि उनी प्र २–०१–००१ च ०४५७ नम्बरको चार पाङ्ग्रे गाडी भाडामा लिएकी छन् ।
उक्त चार पाङ्ग्रे गाडी भने उनी चढ्ने गरेकी छैनन् । तर उनले मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएकी छन् । उनी भाडामा लिएको गाडी नवराजपुर गाउँपालिका ५ का तेजीलाल यादवको नाममा छ । तेजीलाल उपाध्यक्ष यादवकी ससुरा हुन् ।
उक्त गाडी भने उपाध्यक्ष यादवका जेठान वजिन्द्र प्रसादले गाउँघरमा भाडामा लगाउने गर्छन । वजिन्द्रले सोही गाडी बिहेवारि र अन्य कामका लागि सर्वसाधारणलाई भाडामा समेत दिने गर्छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कार्यपालिकाको निर्णय अनुसार ०७९ भदौ १ देखि गाडी भाडामा लिएर उपाध्यक्ष यादवलाई चढ्न दिएको बताए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षका लागि चार पाङ्ग्रे गाडी भ्याटसहित मासिक १ लाख २० हजार बुझाउने गरी पालिकाले भाडामा लिएको छ । उनले चार पाङ्ग्रे गाडी बाहेक पालिकाको एउटा मोटरसाइकल पनि राखेकी छन् ।
अधिकृत साहका अनुसार उपाध्यक्ष यादवलाई चार पाङ्ग्रे गाडीका लागि १ सय लिटर डिजेल र मोटरसाइकलका लागि १०–१५ लिटर पेट्रोल पालिकाले उपलब्ध गराउँछ । इन्धन प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार बुझ्दै आईरहेकी छन् । यता, उपाध्यक्ष यादवले पनि पालिकाबाट मोटरसाइकल र चार पाङ्ग्रे गाडी सुविधा लिएको स्वीकार गरेकी छन् । उनले आवश्यकता अनुसार दुवै गाडी प्रयोग गर्ने गरेको बताइन् ।
उनले चार पाङ्ग्रे गाडी त तपाईँको आफ्नै हो ? भन्ने जिज्ञासामा भनिन्, ‘गाउँपालिकाले भाडामा लिएर आफूलाई चढ्न दिएको चार पाङ्ग्रे गाडीको विषयमा बुझ्नु छ भने पालिकामा आएर कुरा गर्नुस् । म अहिले छलफलमा छु ।’























