९ महिनापछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ।बैठक पार्टी मुख्यालय ललितपुर, च्यासलमा बिहान १० बजेबाट सुरू हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा बिहीबार (आज) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
फागुन ५ गतेबाट पार्टीले सुरू गरेको ‘मिसन ग्रासरूट’को समीक्षाअन्तर्गत आजै ९ वटा प्रदेश (७ भूगोल, २ गैरभूगोल) कमिटीहरूले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको रिजालले बताए। ‘आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै मिसन ग्रासरूट अभियानको समीक्षा अन्तर्गत प्रदेशका प्रतिवेदन पेस हुन्छ,’ उनले भने।
मंगलरबार बसेको सचिवालय बैठकले १० वटा कार्यसूची तय गरेको थियो। जसअन्तर्गत चौथो केन्द्रीय कमिटी बैठकयताका निर्णयहरूको जानकारी, अनुमोदन, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक, कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन, समसामयिक प्रस्ताव आदि विषय छन्।
९ महिनापछि बोलाइयो बैठक
नेकपा (एमाले)को विधानमा केन्द्रीय कमिटीको बैठक छ–छ महिनामा बस्ने व्यवस्था छ। तर, एमालेको बैठक भदौयता बसेको छैन। यसबीचमा प्रतिनिधि र प्रदेश सभाका निर्वाचन तथा ३ क्षेत्रमा प्रतिनिधि सभाको उपचुनाव पनि भएकाले त्यसको विस्तृत समीक्षा पनि एमालेमा नभएको र यो केन्द्रीय कमिटीको बैठकमा त्यसबारे छलफल हुने एमाले नेताहरूले बताएका छन्।
यसबीचमा नेकपा (एमाले) नेतृत्वमा गठबन्धन बनेको थियो। संघीय सरकारमा एमाले पनि सहभागी भएको थियो। फागुन १५ गते एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मौजुदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वमा सरकार पनि बनेको थियो। अहिले कोशीबाहेक अन्यत्र एमालेको सरकार ढलिसकेको छ। आजबाट सुरू हुने बैठकमा यसबारे पनि छलफल गर्ने बताइएको छ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय छ। अनुशासन, लेखा, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् सदस्य केन्द्रीय कमिटीका पदेन सदस्य हुन्छन्। त्यस्तै ९ वटा प्रदेश कमिटीका अध्यक्ष पनि पदेन सदस्यका हैसियतले बैठकमा सहभागी हुने व्यवस्था छ।
एमालेका दुई केन्द्रीय सदस्य निलम्बित छन्। पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएर फरार भएपछि निलम्बनमा परेका छन्। केन्द्रीय सदस्य हरिनाराण महतो पनि अनुशासनविपरीत काम गरेको भन्दै निलम्बनमै छन्।






















