पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत पेस गरिँदै


काठमाण्डाै, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाण्डौ लगेको छ ।
आज बुधबार बिहान पक्राउ परेका खाणलाई प्रहरीले अनुसन्धानका लागि अदालतमा उपस्थित गराएर म्याद थपको अनुमति लिन लागेको हो । जिल्ला प्रहरी परिसर टेकुबाट प्रहरीले उच्च सुरक्षासहित खाँणलाई जिल्ला अदालत बबरमहल लगेको हो ।
प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधवार बिहान निवासबाटै पक्राउ गरेको हो । यो प्रकरणमा खाँणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनले आज बल्ल आफू बिरामी रहेका कारण संसदमा उपस्थित हुन नसकेको पत्र संसद सचिवालयलाई पठाएका छन् ।
प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलगायत १२ जनालाई पक्राउ गरिसकेको छ ।























