सहिद स्मारक लिगमा सात खेलपछि संकटाको पहिलो जित, सातदोबाटोलाई २–० ले हराउन सफल


काठमाडौँ । कहिलेकाहीं खराब लयमा पूर्णविराम लगाउन भाग्यको पनि सहयोग चाहिने हुन्छ । जावलाखेल युथ क्लबका लागि सहिद स्मारक लिग ‘ए’ डिभिजनमा यस्तै भयो । लगातार सात चरण अंक तालिकाको शीर्षस्थानमा रहेको जावलाखेलले अन्ततः गत साता त्यसलाई गुमाएको थियो ।
कारण अरू केही होइन, क्लबकै खराब लय थियो । तर, मंगलबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले हिमालयन शेर्पालाई १–० ले हराएर शीर्षस्थानमा उक्लेको छ ।
यसको पूरा श्रेय भने जावलाखेललाई नदिएकै राम्रो । तर टोलीको भाग्य भने बलियो नै रह्यो । खेलको २४ औं मिनेटमा अब्दुल अजिजको कर्नर बचाउ गर्ने क्रममा गोलरक्षक किशोर गिरीले पञ्च गरेका थिए । त्यही बलले डिफेन्डर अमृत श्रेष्ठलाई लाग्दै पोस्टको दिशा लिएको थियो । जावलाखेलको २७ अंक भएको छ, तर टोलीको शीर्षस्थानको बसाइ लामो नहुन सक्छ । चर्च ब्वाइजको पनि समान २७ अंक छ । टोलीले एक खेल कम खेलेको छ ।
यो नतिजापछि जावलाखेलको लगातार ४ खेलका जितविहीन यात्रामा पूर्णविराम लागेको छ । यससँगै जावलाखेलको लगातार दुई हारको क्रम पनि टुंगिएको छ ।
त्यसअघि दशरथ रंगशालामै भएको खेलमा थ्रीस्टारले एनआरटीसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । लय गुमाएको थ्रीस्टारको यो लगातार दोस्रो गोलरहित बराबरी हो । यस्तै टोलीले पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन र यस अवधिमा ४ अंकमात्र बटुलेको छ ।
एनआरटी भने १८ अंकमै सीमित रह्यो । मंगलबारकै अर्को खेलमा संकटाले सातदोबाटोलाई २–० ले हरायो । सात खेलयता संकटाको यो पहिलो जित हो । च्यासल मैदानमा भएको खेलमा संकटाका लागि दुवै गोल युसुफ इद्रिसले गरे । दुवै गोल पहिलो हाफमा सम्भव भयो । उनले पेनाल्टीबाट १४ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि २६ औं मिनेटमा अर्को गोल थपेका थिए । यो जितपछि संकटाको २० अंक भयो भने सातदोबाटो २३ अंकमै सीमित रह्यो ।
यो त रह्यो मैदानका कुरा । मंगलबारका तीन खेलको तुलनामा सबैभन्दा उल्लखेनीय पक्ष थ्रीस्टारका मेघराज केसीले पोस्टम्याच कन्फ्रेन्समा जे भने, त्यो रह्यो सन्तोष साहुखलको बर्खास्तगी ।
केसीले त्यसक्रममा आफ्नो क्लबले जापानबाट लिग खेल्न काठमाडौ आएका सन्तोष साहुखललाई टिमबाट निष्कासन गरेको दाबी गरे । उनको भाषामा सन्तोषले त्यस्तो काम गरेका थिए, जुन उनीजत्तिका खेलाडीबाट पटक्कै अपेक्षा थिएन । प्रशिक्षक केसीले भने, ‘हामीले सन्तोषलाई ‘फायर’ गरेका छौं ।’
सन्तोषले खुमलटारविरुद्ध थ्रीस्टारका लागि पछिल्लो पटक खेलेका थिए । दोस्रो हाफमा उनलाई परिवर्तन गरिएको थियो । त्यसयता उनी टिममा छैनन् । त्यस खेलको मध्यान्तरमा सन्तोषले रिसले ड्रेसिङ रूमको ढोकामा लात्ती हानेको, जर्सी र जुत्ता पनि फुकालेर फालेका थिए । त्यसअगाडि मैदानमै सन्तोषको कप्तान विक्रम लामा र प्रशिक्षक केसीसँग मनमुटाव भएको थियो । ड्रेसिङ रुम लामो समय शान्त नभएपछि सन्तोष खेल छाडेर बाहिरिएका थिए ।























