खेलकुद

पाल्पा रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबलको तयारी पुरा

नवलपुर टुडे
२०८० बैशाख २६ | मध्यान्ह ०२:०१ बजे

तानसेन । पाल्पाको रानीमहलमा आयोजना हुने राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय टोली र आयोजक गरि १० वटा टोलीको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सहआयोजक पाल्पा जिल्ला भलिबल संघको टोली सहभागी हुनेछन् ।

लिग र नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते हुने जानकारी फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले दिइन् । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सबै टोली र अफिसियल तानसेन आइपुग्ने बताइन् ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी र मेडल तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । २५ हजार रुपैयाँको सान्त्वना पुरस्कारको ब्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

जनसहभागितामा बढाउन प्रतियोगिताको अन्तिम दिन वैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । उक्त दौडमा पाल्पाका स्थानीयसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजित उक्त प्रतियोगिता नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

कमेन्टहरु