कांग्रेसले महाधिवेशन सकेको १७ महिनापछि पार्टी संरचना र भ्रातृ संस्थालाई पूर्णता दिँदै

नवलपुर टुडे


काठमाडौ । महाधिवेशन सकिएको १७ महिनापछि कांग्रेसले पार्टीका अपूर्ण संरचना र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी गरेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र नेताहरूसँग छलफल अघि बढाएका छन् । यस क्रममा देउवाले शुक्रबार पनि पार्टी पदाधिकारी र अन्य प्रभावशाली नेताहरूसँग छलफल गरे । प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी संरचनालाई छिटो पूर्णता दिन र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी सभापतिले पदाधिकारीसहितको नेताहरूसँग छलफल गरेको बताए । उनले वैशाख अन्तिम साताभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि नै पार्टी तथा भ्रातृ संस्थाहरूलाई पूर्णता दिने तयारीमा सभापति रहेको जानकारी दिए । आसन्न केन्द्रीय कार्यसमिति बैठकमा गत ४ मंसिरको निर्वाचन र त्यसयताको राजनीतिक अवस्थाबारे समीक्षा हुने महतको भनाइ छ ।
‘केन्द्रीय समिति बैठकअघि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने र नेतृत्व गठन हुन नसकेका विभागमा संयोजक तोक्ने गृहकार्य भइरहेको छ । यसै क्रममा पार्टी सभापतिले पदाधिकारीहरू र नेताहरूसँग सल्लाह–सुझाव लिनुभएको हो,’ प्रवक्ता डा. महतले नयाँ पत्रिकासँग भने, ‘सबै गृहकार्य पूरा गरेर २८–२९ वैशाखमा बैठक बोलाउने तयारी छ । त्यसअघि नै पार्टीका सबै संरचनाले पूर्णता पाउनेछन् र केन्द्रीय समितिमार्फत नयाँ राजनीतिक अवस्थाबारे धारणा तय गरेर जानेछौँ ।’ कांग्रेसले विभागहरूको संयोजक केन्द्रीय सदस्यहरूबाट तोक्ने गरी छलफल गरिरहेको छ । उपनिर्वाचनपछि सभापति देउवाले लगातार रूपमा पार्टीमा छलफल गरिरहेका छन् । उपनिर्वाचनको परिणामपछि कांग्रेसमा पार्टी संरचना चलायमान हुनुपर्ने र नेतृत्व रूपान्तरणको आवाज उठिरहेको छ । यसका लागि नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा जोडदार रूपमा छलफल हुनुपर्ने माग राख्दै आएका छन् । तर, बैठकको मिति भने तय भइसकेको छैन ।
कांग्रेसमा सात महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । प्रवक्ता महतका अनुसार २७ वैशाखपछि बैठक बोलाउने तयारी छ । पछिल्लो समय ५ भदौमा नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । त्यसअघि २७ असारदेखि २ साउनसम्म कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति बैठक बसेर आवश्यक निर्णय हुँदै आएको छ । कांग्रेस सरकारबाट बाहिरिएसँगै देउवाले २२ पुसका लागि केन्द्रीय समिति बोलाएका थिए । तर, विभिन्न बहानामा बैठक अनिश्चित बनेको थियो ।
कांग्रेसमा सभापतिलाई कोषाध्यक्ष मनोनयन, २८ वटै विभागका प्रमुख र सदस्य मनोनीत गर्ने अधिकारसहित टिकट वितरणमा शक्तिशाली मानिने संसदीय समितिका सदस्य तोक्ने सर्वाधिकार दिएको छ । तर, सभापति देउवाले बेवास्ता गर्दा महाधिवेशनको १७ महिनासम्म पनि अपूरो अवस्थामा छन् । त्यस्तै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशनसमेत समयमा हुन सकेको छैन । उपिनर्वाचनको परिणामसँगै कांग्रेसमा पार्टीलाई चलायमान बनाउन दबाब बढ्दो छ ।
डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति देउवाले शुक्रबार रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले सभापतिलाई रहेको मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्थाअनुसार शुक्रबारबाट सो जिम्मेवारी तोकेका हुन् । १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका रिजाल पराजित भएका थिए । उनले पराजयपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टीको तर्फबाट सरकारमा सहभागी रहेका रिजालले महाधिवेशनमा कार्यकर्ताबाट आफू अनुमोदित हुन नसकेको भन्दै नैतिकताको आधारमा सरकारको जिम्मेवारी परित्याग गरेको बताएका थिए । त्यसयता रिजाल पार्टीमा भूमिकाविहीन थिए । गत निर्वाचनमा समेत उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टिकट पाएनन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















