रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल


काठमाडौं, वैशाख २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।
बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए । ‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ । पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो,’ अध्यक्ष नेपालले भने, ‘मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो ।’
रास्वपाका रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए ।






















