खेलकुद

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

नवलपुर टुडे
२०८० बैशाख १३ | बिहान ०७:०१ बजे

काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरेपछि गिरोनाले स्पानिस ला लिगाको दोस्रो स्थानको रियल मड्रिडमाथि सानदार जित हात पारेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा गिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो ।

न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत बनेका छन् । सन १९४७ डिसेम्बरमा रियल ओभिएडवका एस्टेबान एचाभेरिअले रियल मड्रिडविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।

कास्टेलानोसले  खेलको १२औ र २४औं मिनेटमा गोल गरेपछि गिरोनाले सुरुमै २-० को अग्रता बनाएको थियो । ३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर दोस्रो हाफको पहिलो मिनेटमै कास्टेलानोसले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने गिरोनालाई ३-१को अग्रता दिलाए । ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दा गिरोनाले गोलअन्तर ४-१ को अग्रता बनायो । ८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई उपाधि यात्रामा फाइदा पुगेको छ । लिग लिडर बार्सिलोना र रियलबीच ११ अंकको अन्तर छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले बिहीबार रायो भालेकानोलाई पराजित गरेमा १४ अंकको अन्तर हुनेछ । बार्सिलोनाले ३० खेलबाट ७६ अंक छ भने ३१ खेल खेलेको रियलको ६५ अंक छ ।

कमेन्टहरु