शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै


काठमाडौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्दा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लब तथा मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । शनिबार (आज) च्यासल फुटबल मैदानमा मछिन्द्र र फ्रेनड्स क्लबबीचको खेल दिउँसो ३ः०० बजे सुरू हुनेछ । डिफेन्डिङ च्याम्पियन मछिन्द्र लिगको नवौँ स्थानमा छ । मछिन्द्रले १० खेलबाट १३ अंक बनाएको छ । लिगको १०औँ स्थानमा रहेको फ्रेन्ड्सको १० खेलबाट ११ अंक छ ।
आजै हुने अर्को खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल दशरथ रंगशालामा दिउँसो ३ः०० बजे सुरू हुनेछ । मनाङ लिगको छैटौँ स्थानमा छ । मनाङले १० खेलबाट १५ अंक बनाएको छ । यता, खुमलटार भने लिगको १२औँ स्थानमा छ । खुमलटारको १० खेलबाट १० अंक नैछ ।
यता, लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लब र दोस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडबीचको खेल दशरथ रंगशालामा साँझ ६ः०० बजे सुरू हुनेछ । जावलाखेललाई पराजित गरे, चर्च ब्वाइज लिगको शीर्ष स्थानमा उक्लिनेछ । यता, जावलाखेल भने चर्च ब्वाइजलाई पराजित गर्दै आफ्नो शीर्ष स्थानलाई कायमै राख्ने लक्ष्यमा छ ।
जावलाखेलको १० खेलबाट २० अंक हुँदा दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको १० खेलबाट १८ अंक छ ।























