रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले स्पष्टीकरण सोधेको हो ।
रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै छानबिन पूरा नभएसम्म श्रेष्ठले कुनै काम कारबाही गर्न नपाउने र २४ घण्टाभित्र स्पष्टीकरण बुझाउनुपर्ने जनाएको छ ।
“यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,” विज्ञप्तिमा भनिएको छ, “साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।”
छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।























