ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा स्वागत: प्रसाईं


काठमाडौं । राजतन्त्र समर्थक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी ओलीकै सरसल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई झापा बोलाएर मेची पुलमा स्वागत गरिएको दाबी गरेका छन् । बिहीबार झापाको दमकमा आयोजित कार्यक्रममा पूर्वएमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएपछि आफू (ओली) भेट्न आउँछु भनेकाले आफ्नै फोनबाट पारससँग कुरा गराएको बताएका हुन्।
ओली पनि संवैधानिक राजतन्त्र भित्र्याउने, हिन्दु राज्य कायम गर्ने र संघीयता हुइँक्याउने पक्षमा रहेको प्रसाईंको भनाइ छ। प्रसाईंले एमाले अध्यक्षकै गृहनगर दमकामा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवामाथि विष वमन गरे । एमालेबाट कारबाहीमा परेका प्रसाईंले भने, ‘ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई बोलाइहालें।
राजा पनि आउन सहमत भएपछि बाले अहिले राजा नल्याऊ न नाति भन्नुभयो। आठराईको पानी खाएको मान्छे भएका कारण इज्जतकै लागि पूर्वराजालाई मेची पुल बोलाएर स्वागत गरियो।’
पूर्वराजालाई मेचीमा स्वागत गरेको बहाना बनाएर आफूलाई एमालेले कारबाही गर्नु हास्यास्पद रहेको उनको जिकिर छ। प्रसाईं पछिल्लो समय राजा फर्काउने लक्ष्यसहित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नेतृत्वमा छन्।






















