प्रधानमन्त्री प्रचण्डले माग्ने बित्तिकै मन्त्रीको नाम पठाउँछौं: एकीकृत समाजवादी


काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा सरकारमा सहभागीताबारे छलफल गरेको छ।
आज केन्द्रीय कार्यालयमा बसेको ५५ औं सचिवालय बैठकमा अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएका कुराकानीबारे ब्रिफिङ गरिएको थियो। बैठकमा उपप्रधानमन्त्रीसहित कम्तीमा ३ मन्त्रालयमा दाबी गर्नेबारे छलफल भएको एक नेताले जानकारी दिए।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सत्ता गठबन्धनमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन । ‘प्रधानमन्त्रीले नाम मागेपछि बैठक बसेर मन्त्री पठाउँछौं। सिट बाँडफाँट नमिलेकोले अहिले मन्त्री छानेका छैनौं,’ केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता खतिवडाले भने।
बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चुडामणि जंगलीले दिएको राजीना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले मिटरब्याजविरूद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ। मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि एकीकृत समाजवादीको माग छ।






















