चितवन रामपुर कृषि क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

नवलपुर टुडे
२०७९ चैत्र ८ | बिहान ०९:१२ बजे

चितवन, चैत्र ८ । रामपुर कृषि क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ ।
क्याम्पसमा यसअघि विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीका कारण निर्धारित समयमा चुनाव हुन सकेको थिएन । नेपाल प्रहरीको बाक्लो उपस्थितीमा आज निर्वाचन हुन लागेको हो ।
यो क्याम्पसमा २४१ जना विद्यार्थी मतदाता छन् । स्ववियु सभापतिको लागि अखिल संयुक्तको तर्फबाट एमाले निकट अनेरास्ववियुका दिवस पौडेल र कांग्रेस निकट नेपाल विद्यार्थी संघका आशिष जैसी देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । क्याम्पस प्रशासनले एक सूचना जारी गरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा यसअघि दुई क्याम्पसमा मात्रै निर्वाचन सम्पन्न भएको छ ।






















