राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र ५ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता तथा सरकारबाट पनि हटेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसले संविधान रक्षा, स्थिरता, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने, विकास निर्माण र समृद्धिलाई केन्द्रमा राखेर प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । साथै सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको शर्माले बताए ।

कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षमा बस्दै आएको थियो। सरकारमा जाने निर्णय गरेसँगै आजदेखि कांग्रेस सत्तापक्ष बेन्चमा बस्नेछ ।

कमेन्टहरु