राजनीति

सत्ता गठबन्धनमा रहेका तीन दल मोर्चा बनाएर तेस्रो शक्ति बन्ने गृहकार्य गर्दै

नवलपुर टुडे
२०७९ चैत्र २ | बिहान ०९:१२ बजे
फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटेका हुन्।

हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन्। तीन दलको मोर्चा बने संसद्मा यो तेस्रो शक्ति बन्नेछ । यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा बनाउन लागिएको नेकपा एसका एक नेताले बताए।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्। ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो। सत्ता गठबन्धनभित्रै रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत मोर्चा बनाएका छन्।

उक्त मोर्चाबाट डराएका जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको संकेत गरेपछि माओवादी केन्द्र र नेकपा एस त्यसतर्फ अग्रसर भएका हुन्। नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्मा तेस्रो शक्तिका रूपमा उपस्थित हुन समाजवादी मोर्चा निर्माणको पहल भइरहेको पुष्टि गरे।

‘संसद्मा बलियो तेस्रो शक्तिको आवश्यकता महसुस भएको छ, यसबारे विभिन्न दलसँग कुराकानी भइरहेको छ,’ उनले भने।

माओवादी केन्द्रले यसअघि नै यस्तो प्रस्ताव गरेको थियो तर जसपा र नेकपा एस राजी नभएपछि त्यो प्रस्ताव अघि बढ्न सकेको थिएन । अहिले आएर नेकपा एस र जसपा सकारात्मक बनेपछि गृहकार्य अघि बढाइएको हो। केही दिनअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समाजवादी केन्द्र निर्माण हुने र त्यसको घोषणाको तयारी भइरहेको बताएका थिए। त्यसलगत्तै नेताहरूले संसद्मा वैकल्पिक धार निर्माणको तयारी थालेका हुन्। उनीहरू संसद्को अंक गणितलाई समेत ध्यान दिएर अघि बढिरहेका छन्।

‘माओवादी केन्द्रले यसअघि राखेको प्रस्तावमा जसपा अध्यक्ष यादव र नेकपा एसका नेताहरू तयार थिएनन्। अहिले मधेस केन्द्रित अन्य दलहरूले उपेन्द्र यादवको जसपाविरुद्ध मधेसमै मोर्चाबन्दी गरेपछि जसपाले माओवादी र नेकपा एसको साथ खोजेको छ। उसले समाजवादी केन्द्र निर्माणमा तत्परता देखाएको छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने।  

लोसपा, जनमत र नाउपाका गरी प्रतिनिधिसभामा १४ सांसद छन्। साझा मुद्दामा सहकार्य गर्ने र सत्ता समीकरणमा पनि सँगै सहकार्य गर्ने उनीहरूले बनाएको मोर्चाको घोषित नीति छ। त्यही आधारमा जनमतकी ममता झालाई उनीहरूले उपराष्ट्रपतिको उम्मेदवार उठाएर जसपाका उम्मेदवारलाई अप्ठेरोमा पारेपछि अध्यक्ष यादव पनि संसद्को अंक गणितमा प्रभावित पार्नेगरी शक्ति निर्माणमा सकारात्मक भएको स्रोतको दाबी छ।

माओवादी केन्द्र, नेकपा एस र जसपाको समाजवादी मोर्चा बनाउने योजनाअन्तर्गत शीर्ष नेताहरू छलफलमा छन्। माओवादी केन्द्रका नेताहरूका अनुसार समाजवादी केन्द्र-मोर्चा निर्माणको पहल नेताहरूले नै गरेका कारण केही दिनमै यसले सार्थकता पाउनेछ। संसद्मा तेस्रो बलियो शक्ति भएर उदाउने गरी समाजवादी मोर्चा निर्माणको कसरत गरिएको हो। ‘यो क्रम पार्टी एकीकरणसम्म पुग्नेछ। यसले राष्ट्रमै बलियो शक्ति निर्माण गर्नेछ,’ माओवादीका एक पदाधिकारीको दाबी छ।

यी तीन दलको मोर्चा निर्माण भए राष्ट्रियसभामा त यो सबैभन्दा ठुलो शक्ति हुनेछ। यी तीन दलका गरी प्रतिनिधिसभामा ४४ र राष्ट्रियसभामा उपाध्यक्षसमेत जोड्ने हो भने २६ (नत्र २५) सांसद छन्। यी तीन पार्टीको समाजवादी मोर्चा निर्माण भए यो शक्ति सरकार निर्माणमा निर्णायक हुनेछ।

‘संसद्मा अहिले प्रतिपक्षमा पुगेको एमालेले मोर्चाको साथबिना कांग्रेसबाहेकका सबै शक्ति मिलाउँदा पनि सरकार निर्माण गर्न नसक्ने अवस्था आउने देखिन्छ, त्यसकारण पनि यस्तो शक्ति आवश्यक रह्यो,’ स्रोतले भन्यो। तर कांग्रेसले भने एमाले र तीन पार्टीको समाजवादी मोर्चालाई छाडेर बाँकी शक्तिलाई एक ठाउँमा ल्याउन सके पनि सरकार निर्माण गर्न सक्छ। ‘बन्न लागेको समाजवादी मोर्चा कांग्रेस र एमालेमध्ये एकलाई बाहिर राख्न र आफ्नो शक्ति कायम राख्न सक्रिय हुनेछ,’ स्रोतले भन्यो। यी शक्तिहरूलाई कांग्रेसले पनि मिलाउन र सरकार निर्माण गर्न मुस्किल पर्ने भएकाले माओवादी केन्द्र, नेकपा एस र जसपाले संसद्मा ‘चाबी’ मोर्चा बनाउन खोजेको देखिन्छ।  

यो मोर्चाबिना कांग्रेस, एमाले कसैले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नसकोस् भन्ने यी पार्टीका शीर्ष नेताहरूको चाहना रहेको स्रोतको दाबी छ। कांग्रेसले आफनो नेतृत्वमा सरकार बनाउन चाहे पनि जनमत, नाउपा, लोसपा, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक ठाउँमा ल्याउनुपर्ने हुन्छ।

तर यी शक्तिहरू मिलाउन कांग्रेसलाई अप्ठेरो पर्ने भएकाले पनि माओवादी केन्द्र, नेकपा एस र जसपाले वैकिल्पिक शक्ति निर्माण गर्न थालेको स्रोतको दाबी छ।

कमेन्टहरु