म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : महामन्त्री थापा


काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने उनले बताए ।
“मैले पाँच वर्षको लागि पाएको भनेको सांसदको जिम्मेवारी हो । यो सबै कामहरू मैले नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो, त्यो कामहरू गर्छु । सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने विषय उठाउँछु ।” उनले भने “म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो । म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ ।”
महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए ।





















