केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, फागुन २७ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरूको बृहत्तर एकताका लागि बहस सुरू गरिने बताएका हुन् ।
उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’ प्रधानमन्त्री प्रचण्डले भने ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।’
माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्छ भन्नेमा आफूहरूको साझा मत रहेको बताए ।





















