मुख्य समाचार

आर्थिक अवस्थाबारे गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

नवलपुर टुडे
२०७९ फाल्गुन २१ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका हुन् ।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् । बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले मारमा पारेको भन्दै ऋणीहरूले लघुवित्त खारेजसम्मको माग गर्दै आएका छन् ।

यता बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौं, मिनाहा गर्नुपर्छ भन्दै एउटा समूह सडक आन्दोलनमा छ । बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीसमेत सडक आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले यिनै विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।

छलफलमा मुख्यसचिव शंकरदास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मालगायत सहभागी थिए ।

कमेन्टहरु