राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाइएन : उपसभामुख राना


काठमाडौँ, फाल्गुन १९ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको गुनासो छ । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप लगाइन् ।
उनले उपसभामुखलाई घर दिने भनिएतापनि आफूले अझैसम्म नपाएको गुनासो व्यक्त गरिन् । अहिले निवास भाडाको रूपमा ३६ हजार दिने गरेको तर आफू ४४ हजार तिरेर बस्नु परेको उपसभामुख रानाको भनाइ छ । उनले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन् ।





















