पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत पोखरा बाहिर प्रदर्शन


पोखरा, फागुन १९ । नाबालिकामाथि बलात्कारको मुद्दा खेपिरहेका अभिनेता पल शाहले सफाइ पाएको भन्दै किशोरीहरूले उच्च अदालत पोखरा बाहिर धर्ना दिएका छन् । अभिनेता शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै किशोरीहरुले धर्ना दिएका हुन् ।
उनीहरुले ‘गलत नजिर प्रतिपादन गर्न बन्द गर’, ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका छन् । धर्नामा सहभागी सलिजा श्रेष्ठले अदालतले जुन नजिर बनाएर पलविरुद्धको फैसला गर्यो यसलाई तत्काल सच्चाउनुपर्ने बताइन् । ‘फागुन १४ गते अदालतले जुन पिडकलाई न्याय दिने काम भयो । यसले यौन हिंसामा पीडितलाई न्याय दिनुपर्ने भन्दा पनि आहत पुगेको छ,’ उनले भनिन्, ‘नवलपुर जिल्ला अदालतले बाल यौन दुराचार फैसला गरे पनि उच्च अदालतले बदर गरेर न्यायालयप्रति नै मानिसहरूको विश्वास गुम्ने खतराविरुद्ध हाम्रो प्रदर्शन हो ।’
अदालतले गरेको फैसलाले न्यायको पर्खाइमा बसेका पीडितहरूलाई अन्याय गरेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । फागुन १४ गते न्यायाधीश द्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै अभिनेता शाहलाई सफाइ दिएको थियो ।























