मुख्य समाचार

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | बिहान ०८:११ बजे

काठमाडौँ, फागुन ५ । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको आज दुई ओटा शल्यक्रिया हुने भएको छ । बुधबार राति खाना पकाउने ग्याँस लिक भइ विष्फोट हुँदा गम्भीर घाइते भएका सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा शल्यक्रिया हुन लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । मुम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेका छन् । कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले चिकित्सकले भण्डारीको अवस्था स्थिर रहेको बताएको जानकारी दिए ।

बुधबार राती ग्याँस सिलिन्डर विष्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हतिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुर अस्पतालमा यथोचित उपचार सम्भव नभएपछि अस्पतालकै सिफारिसमा सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो ।

सांसद भण्डारीकी आमाको भने हिजै कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

कमेन्टहरु