नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै


काठमाडाैँ, फागुन ४ । ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो ।
हिजो राति घाइते भएका नेता डा.भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा.भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरको ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।























