कांग्रेस नेता भण्डारी र उनकी आमालाई उपचारका लागि भारत लैजाने तयारी


काठमाडौं , फागुन ४ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भइ गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालले विदेशमा उपचार गर्न सिफारिस गरेपछि उनीहरुलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी गरिएको हो ।
नेता भण्डारी र उनकी आमालाई अस्पतालमा उपलब्ध हालको स्रोत र साधनले उपयुक्त उपचार गर्न असम्भव भएकोले विदेश लैजान सिफारिस गरिएको कीर्तिपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आमा छोरा जलेर घाइते भएका हुन् । प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै घटनाको करिब एक घण्टापछि कीर्तिपुर अस्पताल लगेर आइसीयूमा राखेर उपचार थालिएको थियो ।
अस्पतालका अनुसार आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ । चन्द्रका दुवै हात, दुवै गोडा र अनुहार जलन भएको छ भने आमाको जीउको अधिकांश भाग जलन भएको छ ।
























