राष्ट्रपति भण्डारी आज दाङ आउँदै


बुटवल, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ आउँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ आउन लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ रुपैयाँ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तरण गरेको थियो ।
उक्त भवनलाई कोरोना महामारीको अवधिमा लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिँदै आएको थियो । महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ ।
राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षाका साथ राष्ट्रपतिको हातबाट उद्घाटन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।























