लुम्बिनी प्रदेश

प्रेम दिवस : पाल्पाको रानी महलमा २५ विवाहित जोडी सम्मानित हुँदै

असिम कामु
२०७९ फाल्गुन २ | बिहान ०८:११ बजे

पाल्पा, फागुन २ । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा आज प्रेम दिवसको दिन २५ जना विवाहित जोडीहरू सम्मानित हुँदैछन् । प्रेम दिवसको अवसर पारेर तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई सम्मान गर्न लागिएको तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं १० का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए ।

पाल्पाको तानसेन नगरपालिका वडा नं १३ मा पर्ने रानी महल दरबारमा आज प्रेम दिवसको दिन विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् । तानसेन नगरपालिकासँग नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गर्न लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उत्तर बाहिनी गङ्गाको दर्शन गरी रानी महलको महादेव मन्दिरमा सिक्का चढाउने र दिइने बचनले युगौँ युगसम्म प्रेम अमर रहन्छ भन्ने मान्यता रही आएका छ । यही मान्यतालाई देश विदेशसमक्ष पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रानी महलमा विविध कार्यक्रम गर्न लागिएको पन्तले उल्लेख गरिन् ।

पन्तका अनुसार आयोजक तानसेन नगरपालिका र नाट्टा लुम्बिनीका पदाधिकारीहरू सोमबार नै रानी महल पुगेका छन् । भारतका विभिन्न ठाउँ र नेपालका विभिन्न टाढाको दुरीबाट आउने पर्यटकहरू पनि सोमबार नै रानी महल पुगेका छन् । रानी महलको छेवैमा रहेको कालिगण्डकी नदीमा र्याफ्टिङ गरेर आनन्द लिने पर्यटकहरूले हालै निर्माण भएको झोलुङे पुलमा मनोरम दृश्यको अवलोकन तथा सेल्फी लिएर रमाउने छन् । प्रेम दिवसको दिन यहाँ पर्यटकको घुँइचो नै लाग्ने गर्दछ ।

कमेन्टहरु