लुम्बिनी प्रदेशमा मिल्यो भागवण्डा, आइतबार शपथ लिने तयारी


बुटवल, माघ २८ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि दलहरुबीच भागवण्डा मिलेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेले ४, माओवादीले ३ तथा राप्रपा, जनमत र जसपाले एकएक मन्त्रालय लिनेगरी दलहरुबीच समझदारी भएको हो ।
माओवादी केन्द्रले अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय लिने सहमति भएको छ भने एमालेले मुख्यमन्त्रीसहित शहरी विकास, सामाजिक विकास, स्वास्थ्य मन्त्रालय पाउने भएको छ । यस्तै राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकासमध्ये एउटा मन्त्रालय पाउने छ ।
सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने भएको छ । जसपा पनि सरकारमा नगए त्यो मन्त्रालय एमालेले लिनेगरी सहमति भएको छ । साना ३ दलले मन्त्रीको नाम टुंगो लगाएपनि एमाले र माओवादीमा आकांक्षीहरु धेरै भएकाले ती दलहरुले मन्त्रीको टुंगो लगाउन सकेको छैन ।
आइतबार शपथका लागि सरकारले तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गत पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्रीमा एमाले नेता लीला गिरी नियुक्त भएका थिए । त्यसको भोलिपल्ट २८ गते मुख्यमन्त्रीसँगै एमालेका उपनेता चेतनारायण आचार्य र माओवादीकी नेतृ कृष्णा केसी विनाविभागीय मन्त्रीको सपथ लिएका थिए ।























