तस्कर, लुम्बिनी प्रदेश

भन्सार छली ल्याएको ५ लाख ५७ हजार ९ सय मूल्य बराबरको अबैध गहुँ र चामल बरामद

नवलपुर टुडे
२०७९ माघ २७ | मध्यान्ह ०७:१० बजे
बरामद गहुँ र चामल

नवलपरासी, माघ २७ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका – ५ चमनटोला दशगजाबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएको गहुँ र चामल बरामद गरेको छ ।

बिहीबार राती ८ बजेतिर जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको ७७ बोरा गहुँ र ४ बोरा चामल बरामद गरेको हो ।

गहुँको अन्दाजी मूल्य २,२३,३०० (प्रति बोरा ५० के.जी. को दरले) र चामलको अन्दाजी मुल्य रु. १२,००० (प्रति बोरा ५० के.जी. को दरले) गरी जम्मा मुल्य रु. २,३५,३०० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

यस्तै शुक्रबार दिउँसो साढे ३ बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका – ५ गेर्माबाट प्रहरीले ३४ बोरा गहुँ र ६४ बोरा चामल बरामद गरेको छ । स्थानीय ओमकार गुप्ताको मानिस नबस्ने घरमा अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा खटिएको २७ जनाको टोलीले उक्त गहुँ र चामल बरामद गरेको हो ।

गहुँको अन्दाजी मुल्य रु.९८,६०० (प्रति बोरा ५० के.जी. को दरले) र चामलको अन्दाजी मूल्य रु. २,२४,००० (प्रति बोरा ५० के.जी. को दरले) गरी अन्दाजी मुल्य रु.३,२२,६०० बराबरको रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

बरामद गरिएका गहुँ र चामल आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाईएको पाण्डेयले बताए ।

कमेन्टहरु